Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

26 Feb 2014

कलियुगको विष सेवनले केही हुँदैन

शुक्राचार्यको शक्ति प्राप्तिले दैत्यराज बलिको राज्यमा दैत्य, असुर तथा दानव अति प्रबल भएका र त्यही बेला देवराज इन्द्र दुर्वासा ऋषिको श्रापले शक्तिहीन भएका थिए भने दैत्यहरुको राज तिनै लोकमा भएको थियो । यसबाट स्वर्गका राजा इन्द्रदेव सहित सम्पूर्ण देवगण त्यसबाट एकदमै भयभित भएका थिए । यस किसिमको समस्या समाधानको लागि केवल विष्णु नै सक्षम भएको भनि सम्पूर्ण देवगणमा छलफल चल्यो र ब्रम्हासहित सम्पूर्ण देवगण विष्णु भगवान् कहाँ पुगेर स्तुति गर्दै विष्णुलाई आफ्ना सम्पूर्ण समस्याको कथन गरे । तब भगवान् विष्णुले मधुर वाणीमा भन्नुभयो कि यस समय तपाइहरुको लागि संकटकाल छ । दैत्य, दानव, असुरहरुको उन्नति भैरहेको छ र तपाईहरुको अवनति हुँदैछ । त्यसैले यो संकटकाललाई मैत्रीपूर्ण भावले व्यतीत गर्नुपर्दछ । तपाईहरु दैत्यहरुसँग मित्रता गर्नुहओस् अनि क्षीर सागरमा मन्थन गरेर त्यसबाट अमृत निकालेर सेवन गर्नुहोस् । दैत्यको सहायताले यहो कार्य सहजै सफल हुन्छ । यस कार्यको लागि दैत्यहरुको हरेक शर्तहरु मान्नुहोस् र अन्त्यमा आफ्ना् काम सम्पन्न गर्नुहोस् । यसरी अमृत पिएपछि तपाईहरु अमर हुनुहुनेछ अनि तपाईहरुमा दैत्यलाई मार्नको लागि सामथ्र्य पैदा हुन्छ ।

भगवान् श्री विष्णुको आदेश अनुसार देवराज इन्द्रले समुद्र मन्थन गरेर अमृत निकाल्ने कुरा बलिलाई भन्नुभयो । दैत्यराज बलिले देवराज इन्द्रसँग सम्झौता गरे अनि समुन्द्र मन्थनको लागि तयार भए । मन्दराचल पर्वतलाई मन्थन गर्ने मदानी तथा वासुकी नागलाई डोरी बनाइयो । स्वयं भगवान् श्री विष्णु कछुवाको अवतार लिएर मन्दराचल पर्वतलाई आफ्नो काँधमा राखेर त्यसको आधार बन्नुभयो । भगवान् नारायणले दानव रुपबाट दानमा अनि देव रुपबाट देवतामा शक्तिको सञ्चार गर्नुभयो । वासुकी नागलाई पनि गहिरो निन्द्रामा पारेर उसको कष्ट हरण गरियो । मुर्ख दैत्यहरुले वासुकी नागको मुखतिर समात्दा मुखबाट केही लाभ मिल्छ भन्ठानेर मुखतिर समाते । अनि देवताहरुले पुच्छरपट्टिको भाग समाते । 
समुन्द्र मन्थन आरम्भ भयो अनि कछुवाको अवतार लिनुभएको भगवान् श्री विष्णुको एक लाख मिल चौडा काँधमा मन्दराचल पर्वत घुम्न थाल्यो । अनि त्यसबाट सबैभन्दा पहिला विष निक्ल्यो । त्यस विषको कारणले दैत्य तथा देवताहरु जल्न र मर्न थाले र उनिहरुको मनमा डर त्रास पैदा भयो । यस्तो भयावह स्थिति देखेपछि सम्पूर्ण दैत्य र देवगण मिलेर भगवान् शिवको प्रार्थना गर्न थाले । प्रार्थनाबाट प्रसन्न भई महादेव स्वयंम उपस्थित भई त्यस विषलाई आफ्नो हातमा लिएर पिउनुभयो तर घाँटीबाट तल झर्न दिनुभएन । त्यसबाट महादेवको कण्ठ निलो भयो त्यसैले महादेवलाई निलकण्ठ भनेर पनि चिनिन्छ । यसरी विष पान गर्दा महादेवको हातबाट केही थोपा विष भुईमा परेको थियो जसालाई सर्प, विच्छु आदि विषालु जीवहरुले ग्रहण गरे । 

यसरी महादेवले विष पान गरिसकेपछि समुन्द्र मन्थन फेरी शुरु भयो । दोस्रो पटकको मन्थनबाट कामधेनु गाई निक्लिइन् जसलाई ऋषिहरुले राखे । फेरि उच्च श्रेणाीको घोडा निस्कियो जसलाई दैत्यराज बलिले राखे । त्यसपछि ऐरावत हात्ति निस्कियो जसलाई देवराज इन्द्रले ग्रहण गर्नुभयो । एरावत पर्वतपछि कौस्तुभमणि निस्कियो त्यसलार्य भगवान् विष्णुले राख्नुभयो । फेरी कल्पद्रुम निस्कियो अनि रम्भा नामक अप्सरा निस्किइन् । यी दुवैलाई देवलोकमा राखियो । फेरि समुन्द्र मन्थन गर्दा श्री लक्ष्मी निस्कनुभयो । श्री लक्ष्मीले स्वयम् भगवान् विष्णुलाई वर धारण गर्नुभयो । त्यसपछि कन्याको रुपमा वारुणी प्रकट हुनुभयो जसलार्य दैत्यहरुले ग्रहण गरे । फेरि एक गरी चन्द्रमा, पारिजात वृक्ष तथा शंख निस्किए । अनि अन्त्यमा धन्पन्तरि वैद्य अमृतको भाँडो लिएर प्रकट हुनुभयो । धन्वन्तरिको हातमा भएको अमृतको भाँडोलाई दैत्यहरुले खोसे अनि एक आपसमा नै लड्न थाले । यता देवगणहरु दैत्यसँग लड्ने क्षमता नभएर दैत्यहरुको लडाई हेरिरहे । यसरी देवताहरुलाई निराश देखेर भगवान् श्री विष्णुले मोहिनी रुप धारण गरी दैत्यहरुको नजिक पुग्नुभयो । त्यस विश्वमोहिनी रुपलाई देखेर दैत्य तथा देवताहरु मात्र नभई स्वयंम ब्रह्माज्ञानी, कामदेवलाई समेत भस्म गरिदिने भगवान् शंकरपनि मोहित भएर त्यसतर्फ बारम्बार हेर्न थाल्नुभयो । जब दैत्यहरुले त्यस नवयौवना सुन्दरीलाई देखे अनि आफ्ना सारा झगडा भुलेर त्यसतर्फ मोहित हुँदै एकटकसँग हेर्न थाले ।

अनि दैत्यहरुले त्यस सुन्दरीलाई सोधे ‘हे सुन्दरी तिमि को हौ ? हामीहरुको झगडालाई समाप्त गर्नको लागि नै तिमि हामीलाई कृपा कटाक्ष गर्दैछौ । आउ सुन्दरी तिम्रो स्वागत छ । हामीलाई यो तिम्रो सुन्दर हातले अमृत पान गराउ ।’ यस्तो कुरा सुनि विश्वमोहिनी रुपी विष्णुले भन्नुभयो ‘हे देवता अनि दानवहरु ’ तपाईहरु दुवै महर्षि कश्यप जीको पुत्र भएको कारण दाजुभाई हुनुहुन्छ तर आपसमा झगडा गरिरहनुभएको छ । म त स्वेच्छाचारी स्त्री हूँ । बुद्धिमान मानिसले यस्तो स्त्री माथि कहिल्यै विश्वास गर्दैनन्, फेरि तपाईहरु कसरी म माथि विश्वास गर्दै हुनुहुन्छ ? राम्रो यहि हुनेछ कि तपाईहरु सबै मिलेर अमृतपान गर्नुहोस् ।’
विश्वमोहिनीको यस्तो नीति कुशल वचन सुनेर दैत्यहरु सबैलाई उनीमाथि अझ बढी विश्वास भयो । उनीहरुले भने हे ‘हे सुन्दरी ! हामी तिमीमाथि पूर्ण विश्वास गर्दछौं । तिमिले जसरी बाँडेर दिन्छौं हामी त्यसैगरी अमृतपान गर्नेछौं । तिमि यो भाँडो लिग अनि हामी सबैलाई बाँड ।’ विश्वमोहिनीले अमृतको भाँडो लिएर देवता र दैत्यहरुलाई अलग अलग लाइनमा बस्न लगाइन । त्यसपछि दैत्यहरुलाई आफ्नो कटाक्ष बोली र हाउभाउले मदहोश पार्दै देवताहरुलाई अमृतपान गराइन । दैत्यहरु भने उनको कटाक्षमा मदहोश भएर अमृतपान गर्न नै भुले । 

मोहिनी रुपी श्री भगवान् विष्णुको यस चाललाई राहु नामक एक दैत्यले चाल पाइहाल्यो । अनि उ देवताको रुप लिएर देवताहरुको लाइनमा बस्यो अनि अमृत मुखमा हाल्यो । जब अमृत उसको कण्ठमा पुगेको थियो तब चन्द्रमा तथा सूर्यले पुकार्दै भने हे राहु दैत्य । यो सुनेर भगवान् विष्णुले तत्काल आफ्नो सुदर्शन चक्रले त्यसको शिर शरीरबाट अलग पारिदिनुभयो । अमृतको प्रभावले उसको टाउको र शीर राहु अनि केतु नामक ग्रह बनेर अन्तरिक्षमा स्थापित भयो । त्यही वैरी भावका कारण सूर्य अनि चन्द्रमाको ग्रहण गरिन्छ । 
यसरी देवताहरुलाई अमृत पिलाएर भगवान् विष्णु त्यहाँबाट अदृश्य हुनुभयो । उनी अदृश्य हुने बित्तिकै दैत्यहरुको मदहोशी समाप्त भयो । उनीहरु अत्यन्त क्रोधित भएर देवताहरुमाथि प्रहार गर्न थाले । भयंकर देवासुर संग्राम आरम्भ भयो जसमा देवराज इन्द्रले दैत्यराज बलिकालाई परास्त गरेर आफ्नो इन्द्रलोक फिर्ता लिए । 

यहाँ यो सन्दर्भ किन जोडिएको हो भने आज महाशिवरात्री पर्व अर्थात् हिन्दुहरुको महान् चाडको दिन हो । आजको दिन हिन्दु धर्मावलम्वीहरुले यस पर्वलाई धुम धामसँग मनाउने गर्दछन् । देशविदेशबाट नेपालको काठमाडौंमा रहेको आराध्यदेव श्री पशुपतिनाथमा मेला भर्न आउँछन् त्यस क्रममा भगवान्को प्रसाद भन्दै गाँजा, भाङ, घट्टा आदि नसाजन्य पदार्थको सेवन अत्यधिक हुने गर्दछ । जसले गम्भिर किसिमका दुर्घटना, अपराधिक क्रियाकलाप पनि हुन्छ । जसरी आराध्यदेव श्री पशुपतिनाथ अथवा भगवान् शिवले विष पान गरेर अथवा नसा नै भनौं सम्पूर्ण लोकको कल्याण गर्नुभयो आजभोली गरिएको यस्ता नसाको सेवनले समाजमा सकारात्मक प्रभाव देखाउनुको साटो समाजमा विकृति, आपराधीक घटनामा वृद्धि, लुटपाट, चोरी, हत्या जस्ता धेरै समस्याहरु बढाइरहेका छन् । त्यसैले जानेर वा नजानेर जति पनि नसालु पदार्थ सेवन गर्ने व्यक्तिहरु हुनुहुन्छ ती सबैलाई आग्रह छ कि यो कलियुग हो तपाईहरुले सत्य युगको सिको गरेर सेवन गरेको नसाले व्यक्तिगत जीवन, समाज, घर, छरछिमेक र समग्र देश अनि विदेशमा समेत सकारात्मक असर गर्नुको साटो नकारात्मक असर गरिरहेको छ । यसलाई आजैदेखि त्याग्नुहोस् र सरल र सवल जीवन बाँच्नुहोस् ।

No comments:

Blogger news